अहिले छाउगोठको भाषणले आमजनतालाई वाक्क पारिसकेको छ । हरेक सञ्चारमाध्यमा कुनै न कुनै रूपबाट छाउपडीको समाचार नआउने भए, उक्त समाचारपत्र बिक्दैन, अनलाइन समाचार पोर्टल खुल्दैनन् । यो अत्यन्तै खुसी लाग्दो कुरा हो । समाजमा व्यप्त गलत संस्कारलाई कुनै न कुनै रूपमाट हटाइनै पर्छ । यहाँ रगत चल्ने तर उनको हातको पानी नचल्ने संस्कार देखिएको छ । यो कस्तो संस्कार हो । एक मानिस अर्को मानिसबाट अछूत हुनुपर्ने, कस्तो संस्कार ? यहि कारण यो समाज साँच्चै बिखण्डित छ । अहिले एउटा खेमाले क्रिस्चियनहरूको विरोध र अर्को खेमाले समर्थन गरेको सुनिन्छ । नेपालजस्तो धार्मिक सहिष्णुता कायम रहेका मुलुकमा धर्मको बारेमा द्वन्द्व हुने सम्भावना बढ्दै गएको छ । अहिले यसको विरोध गर्नेहरू बग्रेल्ती पाइन्छन् । तर, यसको कारण चाहिँ कोही कसैबाट खोजिएको छैन । मुलुकमा क्रिस्चियनहरूको संख्या बढ्नुको कारक तत्व नै छूत र अछूतका कारण हो । मानिसलाई सानो जात र ठूलो जातको भनिएका कारण समाज बिखण्डित छ । यो जातीय विभेद् हटाउने हो भने क्रिस्चियन धर्मलाई अँगाल्नेहरू फेरि आफ्नो स्थानमै आउँछन् । तर, जातीय विभेद् हटाउन कस्ले नेतृत्व गर्ने ?
अहिले छाउपडी प्रथा पनि त्यहि भएको हो । अहिले पश्चिममा छाउपडी गोठ बन्ने क्रम जारी हुनु भनेको पनि त्यहि हो । नेपालीको हरेक घरमा रजस्वला भएकी महिलालाई ३ दिनसम्म छुट्टै राख्ने तर पश्चिममा घरबाहिर राख्दा चाहिँ आवाज उठाउने ? यो कस्तो आवाज हो ? पश्चिममा जारी छाउपडी प्रथा हटाउने हो भने हरेक नेपालीले ३ दिनसम्म छुट्टै राखिने प्रथा बन्द गर्ने हिम्मत गर्नुपर्छ । रजस्वला भएकी महिलाले तेस्रो दिन नुहाइधुवाइ नगरी श्रीमान्सँग सुत्न पाउँदिनन् । उसले खाने थाल बेग्लै हुन्छ । यत्तिसम्म कि अरुले प्रयोग गर्ने कुनै पनि सामान ती महिलाले ३ दिनसम्म छुनसम्म पाउँदिनन् । फरक यत्ति हो, पूर्व वा मध्यतिर घरभित्र बस्छन्, तर पश्चिममा भने घरबाहिर । पश्चिमको छाउगोठ भत्काएर वाहवाही कमाउने इच्छा पाल्नेहरूका कारण यस्तो काम भएको हो । रजस्वला भएकी महिलालाई घरमा नै अछूत राख्ने नेपालीले ठूलो कुरा गर्नु सुहाउँदैन । रजस्वला भएकी महिलालाई घरमा खाना पकाउनदेखि लिएर पूजापाठ गर्न लगाउने हिम्मत कोहीसँग छ ? देखावटी होइन, व्यवहारमा यसलाई हटाउने गरी अभियान चलाउने कोही छ ?
डोटीमा छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले तथ्यांक निकालेको छ । तर, आज त्यहि प्रहरीले रजस्वला भएकी श्रीमतीको हातको पानी खाँदैनन् । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी छ । तर, तिनै जनप्रतिनिधिहरूले रजस्वला भएकी श्रीमतीलाई खाना पकाउन लगाउँछन् त ? सक्दैनन् । हो, यहि हो, देखावटी र व्यवहार । गाउँमा छाउपडी गोठ भत्काउने अभियान सुरु गरेर सञ्चारमाध्याममा नाम आउला तर आफ्नो मनमा रहेको विद्यमान छाउगोठ भत्काउने हिम्मत गर्ने को ? छाउगोठ भत्काएर केही हुँदैन । पहिला काठमाडौंको घरघरमा रहेको छाउगोठ परम्परा हटाएर देखाऊ अनि मात्र बाहिर निस्कने हिम्मत गर्नु आवश्यक छ, न कि प्रचारबाजी ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६ ०८:२९