बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । उनलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गर्न केन्द्रबाट सीआईबीको टोली खटिएको थियो ।
मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ ११:३३