काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको प्रारम्भिक सेयर (आईपीओ)प्रति आकर्षण देखिएको छ । स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि कालिन्चोक दर्शन लिमिटेडले बुधवारबाट निष्कासन गरेको आइपिओमा माग भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार अहिलेसम्म एक लाख १७ हजार ७० कित्ताको लागि आवेदन परेको छ । २४८ आवेदकले एक करोड १७ लाख सात हजार रुपैयाँ बराबरको शेयर माग गरेका हुन् । उक्त आवदेन माग भन्दा निकै बढी भएको कम्पनीले जनाएको छ । कम्पनीले एक लाख आठ हजार कित्ताको लागि मात्रै आवेदन आह्वान गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीले कम्तीमा पनि ५०० कित्ताको लागि आवेदन दिएका छन् । आवेदन दिँदा ६ महिना भित्र खातामा ५० हजार रुपैयाँ रेमिटेन्स पठाएको हुनु पर्ने प्रावधान राखिएका कारण सोही रकम बराबर हुने ५० हजार रुपैयाँकै आईपीओका लागि आवेदन दिएको हुनसक्ने कम्पनीले औंल्याएको छ । एउटै व्यक्तिले रेमिट खाता खोलेर आइपिओमा सबैभन्दा बढी नौ लाख ९९ हजार रुपैयाँ बराबरको नौ हजार ९९० कित्ता शेयर माग गरेको पनि कम्पनीले उल्लेख गरेको छ । रोजगारीमा विदेश रहेका व्यक्तिले आईपीओमा १० हजार ८०० कित्तासम्म आवेदन दिन पाउने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ । यहि मंसिर २८ गतेसम्म आइपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम मितिसम्म एक हजारभन्दा बढीले आइपीओ भर्न सक्ने जनाइएको छ ।
कम्पनीहरुले सेयर जारी गर्दा धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि अनिवार्य आइपीओमा १० प्रतिशत आरक्षण गर्नुपर्ने नियम लागू गरे पश्चात कालिञ्चोक दर्शनले कोटा छुट्याएको हो । यसै कोटा अन्र्तगत वैदेशिक रोजगारीमा गएका नेपालीले पहिलोचोटी आइपीओमा आवेदन दिएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १४:०६