काभ्रे (प्रस)– बनेपा नगरपालिका–१० स्थित जनगाल वनमा शाक्यमुनी बुद्धको मूर्ति स्थापना गरिएको छ । नवनिर्मित मूर्तिको लामा गुरु हरि लामाको समूहले बौद्ध धर्म परम्पराअनुसार प्राण प्रतिष्ठा (ह्राप्ने) पूजा सम्पन्न गरेको छ ।
प्राण प्रतिष्ठा पूजापछि बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले मूर्तिको उद्घाटन गरे । उद्घाटनसँगै उक्त मूर्ति धर्मावलम्बीहरुलाई दर्शन तथा पूजाका लागि खुला गरिएको छ ।
एक वर्षअघि निर्माण थालिएको शाक्यमुनी बुद्धको मूर्ति स्थापना कार्य धार्मिक विधिविधानअनुसार सम्पन्न गरिएको हो ।
झ्यम्भल कृषि फार्मकी सञ्चालिका कमला लामा र युवा समाजसेवी श्रीकृष्ण लामाको संयुक्त प्रयासमा उक्त मूर्ति निर्माण गरिएको हो । मूर्ति सिलान्यासदेखि प्राणप्रतिष्ठासम्मको कार्यमा साढे दुई लाख रुपयाँ खर्च भएको समाजसेवी लामाले जानकारी दिए ।
मूर्ति निर्माणका लागि मेयर शाक्यले १० हजार र विजय लामाले ५० हजार रुपैयाँ सहयोग गरेका थिए । जनगाल वन कार्यालयमाथि सेतीदेवीको मन्दिर, गणेश मन्दिर र १०८ शिवलिंगलगायत हिन्दू मठ मन्दिर रहेको क्षेत्रमा बुद्ध धर्मका प्रवर्तक शाक्यमुनी बुद्धको मूर्ति स्थापना भएपछि धार्मिक पर्यटन र सद्भाव बढाउने स्थानीयको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १४:२९