काठमाडौं (प्रस)– साउदी अरबमा भएको सवारी दुर्घटनामा परी हात गुमाएका अरुण राई नेपाल फर्किएका छन् । दुर्घटनापश्चात् साउदीमा दुई वर्षदेखि अलपत्र अवस्थामा रहेका राई भर्खरै नेपाल फर्किएका हुन् ।
तीन वर्षअघि सवारी चालक भिसामा साउदी पुगेका राईले सवारी दुर्घटनाबाट एउटा हात गुमाएका हुन् । दुई वर्षअघि दुर्घटनामा परेका राइको उपचारको क्रममा हात गुमाउनु परेको थियो । त्यतिखेर दुर्घटनामा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भएको बताइन्छ । अलपत्र अवस्थामा रहेका राईलाई सञ्चारकर्मी विष्णु घिमिरे, नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्की, टीकाराम उपाध्यायलगायतको सहयोगमा स्वदेश फर्काइएको हो ।
राईले दुर्घटनामा परेपछि कम्पनीबाट कुनै सेवा सुविधा नपाएको र दुई वर्षदेखि साउदीमा अलपत्र अवस्थामा रहेको समाचार बाहिरिएको थियो । दुर्घटनामा परेका राईलाई साउदीको कम्पनीले उपचार तथा स्वदेश फर्काउन कुनै पहल नगरेका कारण नेपाली समुदायको आर्थिक सहयोग र दूतावासको समन्वयमा नेपाल फर्काउन सफल भएको सञ्चारकर्मी घिमिरेले बताए । दुर्घटनापछि बिमालगायतको सेवा सुविधासमेत नपाएको भन्दै राईले गुनासो गरेपछि उनले पाउने सेवा सुविधाका विषयमा पनि आवश्यक पहल गर्ने नेपाली दूतावासले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १३:३८