काठमाडौं– गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाइँको युगल साँझ पोखरामा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले उनीहरूलाई पोखरामा मञ्च प्रदान गरेका हुन् ।
‘रातो र चन्द्रसूर्य’बोलको गीतबाट गायन यात्रा सुरु गरेका सञ्जीव र टीकाले आफ्ना चर्चित गीतहरू ‘नाई मलाई थाहा छैन’, ‘माया लुकी लुकी’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायत दर्जन गीत गाएर पोखरेलीलाई मनोरञ्जन दिलाए । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सञ्जीव र झापाकी टीका नेपाली संगीत क्षेत्रमा सांगीतिक जोडीका रूपमा परिचित छन् । यो जोडीले युगल साँझमै ‘सँग सँगै’को भाग १ र २ एल्बम पनि सार्वजनिक गरे । सञ्जीवका यसअघि ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आइसकेका छन् ।
उनीहरूले संयुक्त रूपमै कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफएम. म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्डलगायतका अवार्ड पाइसकेका छन् । गायिका टीकाले ‘नातिकाजी युवा संगीत सम्मान’ र ‘इमेज अवार्ड’ पनि पाएकी छिन् भने सञ्जीव पनि ‘अनुपम संगीत सम्मान’लगायतका सम्मानबाट सम्मानित भइसकेका छन् ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले नेपाली कला, साहित्य र संगीतका लागि सबैले आ–आङ्खनो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए । उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रूपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रूपमा र विभिन्न संस्थासँग मिलेर सांगीतिक कार्यक्रमहरू गर्दै आएको बताए । उनले आगामी जेठमा हुने सातौँ अनुपम सांगीतिक साँझ गर्ने बताए ।
कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा संगीतका माध्यमबाट सामाजिक कार्य गर्ने बताए ।