दार्चुला– दार्चुला महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आजै भारतलाई कूटनीतिक नोट पठाउने भएको छ।
भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए।
नेपाली पक्षको विरोधपछि महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान समेत भएको थियो। उक्त घटनाबारे गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई रिपोर्ट पठाइसकेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ।
‘हामीले त्यहाँका सरकारी अधिकारी र ठेकेदारलाई विवादित ठाउँमा तटबन्ध नबनाउनुस् भनेका छौं। उनीहरूले त्यसमा सहमति जनाएका छन्,’ उपाध्यायले भने,‘त्यही किसिमको रिपोर्टिङ पनि हामीले केन्द्रमा गरेका छौं।’
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ ११:३४