काठमाडौं– सरकारले इजरायलको कृृषि क्षेत्रमा नेपाली कामदार पठाउनका लागि छलफल सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कृषि क्षेत्रमा नेपाली कामदार पठाउन सकिने अध्ययनका आधारमा इजरायलसँग छलफल सुरु भएको जानकारी दिएको छ ।
गत महिना कृषि क्षेत्रमा एक हजार कामदार पठाउने सम्बन्धमा इजरायल र नेपालबीच पहिलो बैठक बसेको थियो । उक्त बैठकमा नेपालबाट केयर गिभरसँगै कृषिमा पनि कामदार लिने प्रस्ताव इजरायलले गरेको थियो । सोही प्रस्तावका आधारमा कृषि क्षेत्रमा कामदार पठाउने तयारी गर्दै श्रम मन्त्रालयले अध्ययन समिति बनाएर काम अगाडि बढाएको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
एक हजार कामदार लैजाने तयारी गरिरहेको इजरायलले पहिलो चरणमा ४०० जनालाई रोजगारीका लागि भिसा दिने मन्त्रालयले जनाएको छ । ‘इजरायलले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने जानकारी दिएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘उनीहरुकै मागअनुसार अहिले प्रक्रिया अघि बढाइएको छ ।’
केयर गिभरका लागि भाषा परीक्षामार्फत कामदार लिइरहेको इजरायलले कृषि क्षेत्रमा पनि कामदार लैजान्छौं भन्नु रोजगारीका सन्दर्भमा राम्रो हुने घिमिरेको भनाइ छ । उनका अनुसार कृषि क्षेत्रमा जाने नेपाली कामदारको रोजगारको ग्यारेण्टी, पारिश्रमिक, रोजगार सुरक्षा, बिमा र अन्य सेवा–सुविधाका विषयमा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले मस्यौदा निर्माण गरिरहेको छ ।
यस्तै विभागका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलको सम्बन्धित निकायसँग कृषि क्षेत्रमा कस्ता कामदार आवश्यक पर्ने हो त्यसको भर्ना प्रक्रिया र मस्यौदाको संरचना माग गरिएको बताए । कृषिसँग सम्बन्धित कामदार पठाउँदा तालिमको आवश्यकता पर्ने÷नपर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलको कृषि क्षेत्रमा जाने नेपाली कामदारले मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन्छ । कृषि क्षेत्रमा जाने श्रमिकको खर्च र श्रम अवधि यसअघि केयर गिभरमा सरकारले सम्झौता गरेसरह नै हुने विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १५:३४