काठमाडौं– मलेसियाको राजधानी क्वालालम्पुरबाट करिब ६५ किलोमिटर टाढा सेरेम्बानस्थित एक रेस्टुरेण्टमा दुई नेपाली सुरक्षा गार्डको हत्या भएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेका उदयपुरका कृष्णकुमार परियार र मनोजकुमार चौधरीको हत्या भएको हो ।
आइतबार राति उनीहरुको हत्या भएको मलेसिया प्रहरीले जानकारी गराएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । मादकपदार्थ सेवन गरी आपसी झगडाका क्रममा उनीहरूको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।
दूतावासका अनुसार मलेसिया प्रहरीले आक्रमणमा प्रयोग भएको हथौडा बरामद गरेको रिपोर्ट पठाएको छ भने केही नेपालीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । मृतकहरूको शव एक अर्काबाट टाढै र फरक–फरक स्थानमा पाइएको भन्दै प्रहरीले फरेन्सिक जाँचपछि हत्याको उद्देश्य र अन्य विषयमा जानकारी दिने दूतावासले जनाएको छ । रेस्टुरेण्टनजिकै रहेको सिसिटिभी फुटेजबाट घटनाको कारण र पक्राउ परेका नेपालीको संलग्नता रहे/नरहेको यकीन हुने उल्लेख गरिएको छ ।
रेस्टुरेण्टमा नै सुरक्षागार्डको रूपमा काम गर्ने उनीहरूको पहिचान भइसकेका कारण हत्या भएको विषय र घटनाको तथ्यका बारेमा बुझिरहेको मलेसियास्थित नेपाली दूतावासका राजदूत डिल्लीराज पौडेलले जानकारी दिए । मलेसिया रोजगारीमा गएका नेपालीहरू मादकपदार्थ सेवन गर्ने, झैझगडामा सामेल हुने, अनैतिक क्रियाकलाप गर्ने र ज्यानै लिनेसम्मका घटनामा संलग्न हुने भएका कारण जेल पर्ने गरेको उनले बताए ।
मलेसियामा अहिले पनि विभिन्न कसूरमा झण्डै २०० नेपाली जेलमा रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । हाल मलेसियाका विभिन्न शहरमा नेपाली दूतावासले रोजगारीमा रहेका नेपालीहरुमा सचेतना तथा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ १५:३८