काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको सोमबार सम्पन्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन् ।
बलियो मानिएको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि ३–० गोलअन्तरको शानदार जित निकाल्दै ३ अंक हात पार्न सफल भयो भने संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै १÷१ अंक बाँड्न बाध्य भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासललाई ३–० गोल अन्तरले हराएको हो । लिग लिडर आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक÷एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा दबाबमा खेलेको आर्मीले दोस्रो हाफको सुरुवातमै अग्रता बनायो । खेलको ५८ औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । मैदानको मध्येभागबाट प्राप्त बललाई राष्ट्रिय टिमका स्ट्राइकर समेत रहेका भरतले पोस्टको दिशा दिए । गोलरक्षक एलेन न्यौपानेसँग वान भर्सेस वानको स्थितिमा भरतले सहजै गोल गरे ।
खेलको ७३ औं मिनेटमा आर्मीले दोस्रो गोल ग¥यो । दोस्रो गोल नवयुगको नाममा रह्यो । काउन्टरमा कप्तान भरतले आङ्खनो डिबक्स एरियाबाट प्राप्त बललाई दिनेश हेम्जनलाई उपलब्ध गराए । दिनेशले मैदानको डिबक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलरक्षक एलेनले पन्च गरेको रिबाउण्ड बललाई नवयुगले सहजै गोल गरे ।
खेलको ८५ औं मिनेटमा आर्मीले अग्रता तेब्बर बनायो । आफ्नो डिबक्स भित्र नवयुगलाई च्यासलका छिरिङ गुरुङले फउल गरेपछी आर्मीले पेनाल्टीको अवसर पाएको थियो । जसमा सन्तोषले सहजै गोल गरे । त्यसपछि खेलको अतिरिक्त समयमा भने आर्मीले थप एक गोल गर्ने मौका गुमाएको थियो । च्यासलका डिफेन्डर छिरिङले डिबक्सभित्र दिनेशलाई लडाएपछि प्राप्त पेनाल्टीमा नवयुग गोल गर्न चुके । उनको प्रहार पहिलो बारमा लागेर फर्किएको थियो । खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले पाएको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो । बल पोजिसनमा पकड जमाएपनि संकटाले गोल गर्न सकेन । ब्रिगेडले पनि गोलको केहि अवसर गुमाएको थियो । खेलमा ब्रिगेडका गोलकिपर विशाल सुनार म्यान अफ दि म्याच चुनिए । सोमबारको जितसँगै आर्मीले लिगमा स्पष्ट ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबको ७ खेलमा १३ अंक रहेको छ । लिगमा च्यासलको यो तेस्रो हार हो । च्यासलले ७ खेलमा ६ अंक जोडेको छ । च्यासल लिगको १२ औं स्थानमा रहेको छ ।
त्यस्तै ब्रिगेडसँगको बराबरीसँगै संकटाले शीर्ष ६ मा उक्लने मौका गुमाएको छ । आठौं स्थानको संकटाले ७ खेलमा ९ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ८ अंक जोडेको छ । र, ब्रिगेड लिगको नवौं स्थानमा रहेको छ ।