काठमाडौं– एनआइसी एसिया क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ‘लाइफटाइम डिम्याट’ खाता सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्दा निष्कासित सेयरको १० प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेबमोजिम क्यापिटलले उनीहरूका लागि नौ सय ९९ रुपैयाँमा आजीवन डिम्याट खाता सञ्चालनमा ल्याएको हो ।
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीलाई न्यून शुल्कमा डिम्याट खाता खोली नवीकरण गर्ने झन्झटबाट मुक्त हुनका लागि यस क्यापिटलले आग्रह गरेको छ । ‘पे वान टाइम, फर्गेट फर लाइफटाइम’ भन्ने नारासहित ल्याइएको यो योजनामा हाल सञ्चालनमा रहेका खातावालाहरूले पनि नौ सय ९९ रुपैयाँ भुक्तान गरी आजीवन डिम्याट खाता सञ्चालनका लागि नवीकरण गर्न सक्ने जनाइएको छ ।
नवीकरणका लागि क्यापिटलको बैंक खाता वा इ–सेवा, खल्ती, कनेक्ट आइपिएस र फोन पेमार्फत पनि भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ १२:०३