साँखु – केही समय यता मदिराको अवैध उत्पादन तथा कारोबारमा बृद्धि भएको पाइएको छ । त्यसको नियन्त्रणका निमित्त महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले सोमबार साँझ बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा अवैधरूपमा सञ्चालन गरिएको भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ । ती भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थामा रहेको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको प्रभाग प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।
छापा मार्ने क्रममा मदिरा बनाउन जुत्ता, बङ्गुरको कुहिएको आन्द्रा, होटलबाट खेर गएको खानाजस्ता फोहर तथा कुहिएको वस्तु प्रयोग गरिएको फेला परेको प्रहरीले बताए । प्रहरीले बरामद मदिरा स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरेको थियो ।