काठमाडौं– आज मंसिर पूर्णिमा । आजको दिनलाई विभिन्न आदिवासी समुदायले फरक–फरक पर्वका रुपमा मनाउँदछन् । नेवार समुदायले यस दिनलाई यःमरि पुन्हि (धान्य पूर्णिमा)को रुपमा मनाउँदै आएको छ । यसै दिन ज्यापु दिवस पनि मनाइन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जात्रा लाग्ने गर्दछ । यही दिन किराँत समुदायको उधौली पर्व पर्छ । तराइमा थारुहरुले फगुई पर्वका रुपमा यो पूर्णिमालाई मनाउने गर्दछन् । कुलुङ चाड येलेदोङ, चाक्वाकुर पनि यही दिन पर्दछ । यो लेखमा यी पर्व तथा जात्राहरुका बारेमा चर्चा गरिएको छ ।
यःमरि पुन्हि (धान्य पूर्णिमा)
यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे मब्युसाः
बुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः, लाटपाटा कुलिंच्यो जुत्छी त्यः,
यःमरि च्वामू... (यःमरि चुच्चो छ, यो भित्र तिल छ, दिएमा तरुनी हुन्छौं, नदिएमा बूढी हुन्छौं)
तिहारमा देउसी–भैलो खेलेर दान मागेजस्तै यसरी मागेर यःमरि खाने परम्परा छ, काठमाडौं उपत्यकाका नेवार समुदायमा । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पुन्हिलाई बौद्धहरु पञ्चतवत्त (चाकु, तिल, अदुवा, पानी र चामलको पिठो)ले पूर्ण चिवहाः चैत्यका रूपमा लिन्छन् । यःमरि खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता छ । चामलको पिठोभित्र चाकु, तिल, खुवा, अदुवाको रस राखी मःमःझैं बफाएर यःमरि पकाइन्छ ।
किसानहरु यस दिन चामलको पिठोबाट गणेश, लक्ष्मी, ज्यापु, ज्यापुन्हि, ख्याक, कुवेर आदिका प्रतीकको साथ ल्वंचामरी चढाएर ढुकुटी पूजा गर्छन् । यःमरि नेवार समाजमा छोरी–चेली दुई जिउ हुँदा माइतीखलकले धौबजी खुवाउन जाँदा लैजानुपर्ने चलन छ । बालबालिकाको जन्मोत्सव, विवाह, म्हपूजा र वृद्ध भएपछि जंकुमा पनि यःमरि नभई हुँदैन । यसरी नेवारी जीवनका हरेक पक्षमा नभई नहुने यःमरि सहज ढंगबाटै बनाउन सकिन्छ ।
यःमरि बनाउन नयाँ धानको टाइचिन चामलको पिठो भए झनै उचित । पिठो मनतातो पानीले मुछ्नुपर्छ । मुछ्दा धेरै गिलो वा साह्रो हुनुहुँदैन । एक मुठी पिठोको डल्लोभित्र हातको बूढीऔंलाले पेट खाली बनाउने र त्यसभित्र चाकु, तिल स्वादअनुसार खुवा, घिउको लेदो राख्दै मुख बन्द गरी मःमः जस्तै बफाएर पकाउनुपर्छ ।
यःमरि पर्वकै अवसरमा ज्यापु समुदायले २०६१ सालदेखि वसन्तपुरमा ज्यापु दिवस मनाउन थालेको हो । सरकारबाट प्राप्त १२ लाख ५० हजार रुपैयाँको बीउ रकम राखी ज्यापु साँस्कृतिक विकास कोषका संस्थापक अध्यक्ष स्व. चक्रमान डंगोलको पहल र पूर्वमन्त्री तीर्थराम डंगोलको संरक्षकत्वमा राज्यका प्रधानमन्त्रीकोसमेत उपस्थिति गराएर ज्यापु दिवस मनाउन थालिएको हो । उनीहरुले ज्यापु दिवसलाई किसान दिवसका रुपमा मनाउनुपर्नेसमेत आवाज बुलण्द गर्दै आइरहेका छन् । तर, यस दिन आदिकालदेखि नै नेवार समुदायभित्र लुभुको गोभ्रातेश्वर महादेव जात्रा, थेचो नवदुर्गा गण नृत्य, थानकोटको महालक्ष्मी जात्रा आदिकालदेखि हुँदै आइरहेको छ भने गैरनेवारभित्र किराँतीहरुले उधौली पर्व र तराईका आदिवासी थारु समुदायमा नयाँ धानको चामलबाट बनेको परिकार फगुई बनाएर खाने खुवाउने परम्परा रहेको छ जुन यस प्रकार छः
सासौं गोभ्रातेश्वर महादेवको खटजात्रा
यःमरि पूर्णिमाका दिन लुभु गोभ्रातेश्वर जात्रा लाग्छ । एक दिनअघि घर लिपपोत गरी शुद्धसँग बनाएको यःमरि काँसको थालमा एक रुपैयाँ दामसहित छुट्याइन्छ भने एक माना चामलसहित पूजाका लागि ल्याउने गोभ्रातेश्वर महादेवलाई चढाइन्छ । यसरी जात्रा गर्दै पूजा थाप्दा महादेवलाई १४जना द्वारे र १६ जना खड्गीले शुद्धतापूर्वक पूजा गरिन्छ । पूजामा शुद्धता नभए देवता कोफ भई रोगको महामारी फैलिन्छ भन्दै मंसिर पूर्णिमाका दिन चोभरी दुवाल ज्यापुहरूले नुहाइ–धुवाइ गरेर पवित्र भई नङ काटी सेतो जामा पहिरिएर जात्रा चलाइन्छ । गोभ्रातेश्वर महादेवस्थानमा दुवाल ज्यापुका पुर्खाले पशुपतिनाथ दर्शन गर्दा गाईको गोबरमा महादेवले दर्शन दिएकोले गोभ्रातेश्वरलाई नेपाल भाषामा सासौ महाद्यो भनियो ।
थेचो नवदुर्गा गण नृत्य
यःमरि पुन्हिको एक दिनअघि छोयला बु (पोलेको राँगाको मासुलाई नुन–खुर्सानीमा मली बनेको परिकार)सँग भोज खाई ऐतिहासिक थेचोको नवदुर्गा जात्रा मनाइन्छ । छोयला बु, यःमरि पुन्हि, पिंगल जात्रा, मी प्याखँ (कोयलाछी जात्रा), भैलाजु जात्रा गरी पाँच दिन थेचो नवदुर्गा जात्राका ब्रह्मायणी र बालकुमारी खटजात्रा गरिन्छ ।
थेचो नवदुर्गा जात्रा
पूर्वकर्मनाशा र पश्चिम नख्खुबीचको करिब १३ हजार ५०० रोपनीमा फैलिएको थेचो नवदुर्गा जात्रा वर्ष दिन अगाडि श्रावण कृष्ण त्रयोदशीदेखि तयारी हुन्छ । नवदुर्गा गणमा सिंहिनी, ब्याघ्रिनी, बाराही, भैरव, अजिमा (दक्षिणकाली), मनमैंजु (महालक्ष्मी), म्हासुख्वा माजु (ब्रह्मायणी), कुमारी, वामुख्वामाजु, विष्णुदेवी, गणेश, तुयुख्वा माजु (वंगालादेवी)को मुकुण्डो गहना, लुगा र आगद्यो रहेको नवदुर्गा मन्दिरभित्र हाँस, कुखुराको बलि दिई भोज खाइसकेपछि एक महिनासम्म मूल ढोका बन्द गरिन्छ ।
मूल ढोका बन्दपछि थेचोभरि बाजा बजाउन, बिहे–व्रतबन्ध गर्न, इष्टमित्र–आफन्तलाई देश घुमाउन, राति बास बस्न पूर्ण बन्देज लगाइन्छ । भनिन्छ, यस अवधिमा अज्ञात व्यक्ति दही–चिउरा खान्छु भन्दै आउने र सोही व्यक्ति देवीलाई बलि दिने कथन थियो । देवी जगाउन लेलेको तीनपानी भञ्ज्याङबाट ‘आगामसिं’ काठ ल्याई चोकमा नृत्य छाप्रो बनाइन्छ ।
सोही रात, सिंहिनी–ब्याघ्रिनीलाई थेचोको यामुन्या पोखरीको भैरवलाई छम्पी दह, दक्षिणकालीलाई खुल्डोचाबाट र वाराहीलाई बुँलीदह गोदावरीबाट पानी ल्याई चोख्याउने गरिन्छ । त्यसैगरी महालक्ष्मी, मनमैंजुलाई यामुन्या पोखरी, विष्णुदेवी बामुख्यालाई धापाखेलको, गंगा र गणेशका लागि गलबल थेचोको जल ल्याई गोप्य पूजा गरी विधिपूर्वक मुकुण्डो र पोसाक लगाउँछन् ।
यस थेचो नवदुर्गा जात्रा गण नृत्यमा ढल्को क्षेत्रपाटीस्थित इन्द्रायणी पीठ, टोखाको कालिकास्थानमा जस्तै जीवित माछा, भँगेरा, सर्प र बोका दन्दनी बलिरहेको होमस्थलमा दहन गरिन्छ ।
थानकोट महालक्ष्मी जात्रा
यःमरि पूर्णिमाका दिन गोपाली, देसार ज्यापुको आदि भूमि थानकोटमा महालक्ष्मी, महाभैरवीको खटजात्रा हुने गर्दछ । राजा अमर मल्लद्वारा ने.सं. ६०४ मा बस्ती रक्षार्थ स्थापित अष्टमातृका पीठमध्ये महालक्ष्मीलाई यस देशको प्रमुख देवी मानिन्छ । आदिनारायणको खटजात्रालगत्तै थालिने महालक्ष्मी जात्रा चाफ टोलका देसार गुठीका भैरवलाई विधिपूर्वक ढुंगेसिंह कटाएपछि अगाडि बढ्छ । द्वारे र दुवाल समुदायको सहयोगमा हुने जात्राअघि महालक्ष्मी मन्दिरमा गोपाली कन्याको इही (बेल विवाह) गरिन्छ ।
गोपाली समुदायमा इही गर्ने परम्परा छैन तर जात्राका बेला दुई जना कन्याको इहीलाई भाग्यमानी मानिन्छ । गंगटो बलि दिएर सुरू हुने पञ्चबलि (राँगा, हाँस, बोका, भेँडा, कुखुरा) बलिसहित महालक्ष्मी जात्रामा भैरव र गणेश खटको सहभागी हुन्छन् ।
किराँतीको उधौली
अन्न उत्पादनका लागि प्रकृतिलाई धन्यवाद दिन मनाइन्छ, किराँती पर्व उधौली पर्व । लोक आख्यानहरुमा यस पर्वका बारेमा थुप्रै किम्वदन्तीहरु पाइन्छन् । ती मध्येका प्राकृतिक कृषियुगिन पर्वबारे यहाँ उल्लेख गरौं ।
एकपल्ट दोलखाका किराँती राजाले श्रीपेच पहिरने भव्य सार्वजनिक सभा राखेछन् । बहिनीकै हातबाट भव्य सभामा राजाले श्रीपेज पहिरिने परम्परा चल्दै थियो । अचानक रजश्वला हुन पुगेकी बहिनी सोइसोइला लाज र ग्लानिवंश समारोह छोडेर जंगल पस्छिन् । ‘दोलोकुम्मा दो सोइसोइला’ भन्दै चेलीलाई जति बोलाउँदा पनि फर्किनन् । यसैबीच हातमा बोकेको श्रीपेच भुइँमा खसी ढुंगा बन्न पुगेछ ।
श्रीपेचको शक्ति ढुंगामा छ भन्नेहरू ढुंगापूजक लिम्बू र श्रीपेचको शक्ति बहिनी सोइसोइलासँगै जंगलमा छ भन्नेहरू प्रकृतिपूजक खुम्बू (राई) कहलाए । मुन्धुम धर्मशास्त्रअनुसार उभौली र उधौली पुज्नेहरूमा राई (खुम्बू), लिम्बू, याख्खा, सुनुवारले वैशाख पूर्णिमामा चण्डी नाचेर (साकेला) र मंसिर पूर्णिमाका दिन उधौली (सिली) मनाउँछन् । तर, किराँतभित्रकै कुलुङ, जेरो, याम्फूले पुस १५, १६, १७ गते चक्चाकुर नयाँ वर्ष मनाउँछन् । नेवारहरुले यःमरि पुन्हि मनाइरहँदा किराँतले पनि नयाँ अन्नको परिकार खाँदै सिली मनाउँछन् । यस दिन किराँत भूमि पूर्वी नेपालको पहाडी इलाकामा मौलिक हाक्पारे, लङसिङ, केनीसा नाच्ने र किराँती धर्मशास्त्र मुन्धुमअनुरूपका फुङवा, चोङवा, थाक्वाथाक्मा, पाक्लुङलेटमा देवीदेवताको पूजा गरी धनुकाँड प्रदर्शन गरिन्छ ।
सिली उधौलीेको आख्यानुसार आदिकालमा खेती गर्न नजानेका किराँतहरू काँचै तरुल, गिट्ठा, भ्याकुर र जंगली जन्तुको मासु खाने गर्दा अनेक रोग लागेर मर्दथे । तर, तागेरा देवताले कागुन र धानखेती र पाकाएर खान सिकाएपछि डाँडाकाँडा नै ढाकिनेगरी जनसंख्या बढेछ । यही खुसीयालीमा नयाँ धान वा कागुनको परिकार खाने र साकेला नाची चाखोम्बा, मिसेक, युमासाम, धेवासाम, थुङदाङवा र सायात्रुदेनका देवीदेवतालाई सुंगुर, कुखुरा, राँगा बलि दिई नयाँ अन्नको परिकार खाने गरिन्छ ।
फगुई पर्व र थारु
भूमिपुत्र थारु समुदायमा पनि यस दिन नयाँ अन्न घर भित्र्याएर पूजा गरिन्छ । नयाँ अन्न भित्र्याएर पूजालाई औंली लेना–औली देना भनिन्छ । नयाँ अन्नको पिठोबाट झझराँको रोटी देवतालाई चढाएर खाइन्छ । यस दिनलाई थारुमा फगुई भनिन्छ ।
कुलुङ चाड येलेदोङ, चाक्वाकुर
किराँतभित्रका कुलुङहरूमा भने यस महान दिनलाई चाक्वाकुर पुस १५ देखि १७ गतेसम्म नयाँ वर्षका रुपमा मनाइने परम्परा छ । कुलुङ आदिभूमि सोलुखुम्बुको महाकुलुङ छेस्कम, गुदेल, बुङ, साद्दी, पार्व, सोत्तो (सोताङ) मौलिक भाषा कुलुुङ परम्पराको पहिचानसहित मनाइन्छ चक्चाकुर । पुस १७ नयाँ वर्ष येलेदोङ पनि हुँदा तीन दिन भकारी पूजा गरेर मनाइन्छ ।
मिनारी दाचाम्रीः पुस १५ गते गरिने पूजा । घरमा मीठो–मसिनो जे छ, खान्छन् ।
तोबुबा–दोलमः दोस्रो दिन चेली–छोरीज्वाइँलाई बोलाएर खुवाइन्छ ।
नयाँ वर्ष येलेदोङ ः शुभकामनासहित तोबुबा पिलम भव्य मनाउँछन् ।
पारिवारिक भेटघाट, शुभकामना आदानप्रदान गर्दै मीठोे खाएर मनाउने चाक्वाकुर पर्व सोलुखुम्बुको महाकुलुङमा विशेष मनाइन्छ भने सुनसरी, मोरङ, झापा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, काठमाडौंका कुलुङहरूले पर्वलाई पुनः जागृत गर्दै छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ ११:०२