बाँके-जिल्ला प्रसासन कार्यालय बाँकेले बिहीबार एकैपटक विभिन्न ५ वटा सरकारी कार्यालयमा छड्के गरेको छ । छड्केका क्रममा धेरै कर्मचारी अनुपस्थित पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले दिएको जानकारी अनुसार, बिहान एकैपटक सवा १० बजे छुट्टाछुट्टै तीन टोली छड्केका लागि ती कार्यालयमा पुगेका हुन् । जिल्ला प्रशासनका कार्यालयका सुचना अधिकृत समेत रहेका प्रशासकिय अधिकृत खगेन्द्र पौडेल, प्रशासकिय अधिकृत कमल पौडेल र गणेश शाही छुट्टछुट्टै टोली लिएर २÷२ वटा कार्यालयमा छड्के गर्न पुगेका थिए । समयमा काम नगरिदिने र कार्यालय समयमा कर्मचारीहरु नभेटिने गुनासो बढी आएपछि छड्को गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला मालपोत कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला आयुर्वेद केन्द्र, आन्तरिक राजश्व कार्यालयमा प्रशासनको टोली छड्केका लागि पुगेको थियो ।
सबै भन्दा बढी १ सय ५३ जना कर्मचारी भेरी अञ्चल अस्पतालमा पाइएको थियो । विहान ठिक सवा १० बजे अस्पताल पुगेको टोलीले त्यहाँबाट १२ वटा हाजिरि रजिष्टर नियन्त्रणमा लिएको छ । तीन वटै टोलीले तोकिएको ३० मिनट भित्र ६ वटै कार्यालयमा छड्के गरेका
थिए । जानकारी अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ४७ जना, मालपोत कार्यालयमा १५ जना, महिला तथा बालबालिका कार्यालयमा ११ जना र जिल्ला आयुर्वेदमा २ जना कर्मचारीहरु अनुपस्थित पाइएको थियो । ‘कतिपय हाजिरि गर्न नभ्याएका, काजमा गएका वा कार्यालय समयमा नपुगेका पनि हुनसक्छन्’, छड्केमा सहभागि एक अधिकृतले भने —प्रजिअ पन्थले सबै सँग लिखित स्पष्टीकरण मागिने र त्यसका आधारमा थप कारवाही अगाडी बढ्ने जानकारी दिए । उनले नियमित छड्केलाई प्राथमिकतामा राखिएको जानकारी
दिए ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३ १७:२७