कञ्चनपुर– चिसो सुरु भएसँगै कञ्चनपुरमा डेंगु संक्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररूपमा फैलिएको डेंगु संक्रमण पछिल्लो समय कम हुँदै गएको हो ।
एक महिनाअघिको तुलनामा संक्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताए । ‘पछिल्लो केही महिनायता डेंगु संक्रमणमा कमी आएको छ, कहिले काहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने ।
चिसोमा डेंगु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने भएकाले संक्रमणदर कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।अर्जुन भट्टले बताए ।
स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि संक्रमणमा कमी आएको जनाएको छ । महाकाली अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् ।
डा।भट्टले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।’ महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेंगुका बिरामी फेला परेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १०:४५