काठमाडौं –काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदी सफाईको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाई गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ ।
२०७२ जेठ ५ गते वाग्मती सफाई महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाई गरिँदै आएको छ । साप्ताहिकरूपमा यसरी सफाई गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाई महाअभियानले जनाएको छ ।
सफाई महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्णरूपमा सफा हुन सकेको छैन् । सर्वसाधारणले बाग्मतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरेपनि कहिल्यै सफा बन्दैन ।
फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन् । महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बाग्मती नदीको फोहर संकलन गरेका छन् ।
स्वतःस्फूर्तरूपमा स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन् । सफाईमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साहले बताए ।
सफाई महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक बाग्मती सफाई महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ ।
सफाई महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत वाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको हो ।
एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।
अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाई अभियानकर्मी डा।माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताइन् ।
काठमाडौं महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १३:३७