काठमाडाैं - कतारमा जारी विश्वकप २०२२ को खेल अहिले सेमिफाइनलसम्म पुगेको छ। विश्वकपमा जसले सबैभन्दा बढी गोल गर्दछ,त्यस खेलाडीलाई गोल्डन बुट ( सुनकाे जुत्ता )दिइने गरिएकाे छ ।
गोल्डन बुटका लागि प्रतिस्पर्धा निकै रोमाञ्चक हुँदै गएको छ। यस अघि दाबेदार मानिएका धेरै खेलाडीहरु क्वाटरफाइनलबाट बाहिरिसकेका छन्। अहिले यस प्रतिस्पर्धामा केही सीमित खेलाडीहरु मात्र बाँकी छन्।
गत विश्वकपमा इङ्गल्याण्डका ह्यारि केनले ‘गोल्डन बुट’ पाएका थिए। उनले रसियामा भएको सन् २०१८ को विश्वकपमा ६ गोल गर्दै यो उपाधि जितेका थिए।
अहिले कतारमा भइरहेको विश्वकपको ‘गोल्डन बुट’ प्रतिस्पर्धामा तीन जना खेलाडीहरु प्रमुख दाबेदार छन्।
१) कीलियन एम्बाप्पेः चालु विश्वपकमा ‘गोल्डन बुट’ को प्रमुख दाबेदार हुन् कीलियन एम्बाप्पे। उनले हालसम्ममा ५ खेलमा ५ गोल गरेका छन् भने २ गोलमा सहयोग गरेका छन्। यस विश्वकपमा अहिलेसम्म सर्वाधिक गोल गरेका एम्बाप्पे फ्रान्सका खेलाडी हुन्। उनले समूहचरणमा तीन गोल र एक सहयोग गरेका थिए भने नकआउट राउण्डमा २ गोल र एक गोलका लागि सहयोग गरेका थिए।
२) लियोनल मेस्सीः यस प्रतिस्पर्धाको दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रहेका छन्। उनले ५ खेलमा ४ गोल गरेका छन् भने २ गोलका लागि सहयोग गरेका छन्। उनले समूहचरणमा २ गोल गरेका थिए भने नकआउट र क्वाटरफाइनलमा एक एक गोल गरेका थिए।
३) ओलिभियर जिरुडः यस विश्वकपमा ‘गोल्डन बुट’ का अर्का तेस्रा दाबेदार फ्रान्सका खेलाडी रहेका छन्। उनले हालसम्म ४ खेलमा ४ गोल गरेका छन् भने कुनै गोलका लागि सहयोग गरेका छैनन्। एसिस्ट नगरेका कारण उनी तेस्रो स्थानमा परेका छन्।
सेमिफाइनल अघिसम्म यस विश्वकपमा तीन गोल गरेकाहरु पनि ‘गोल्डन बुट’ को दाबेदारका रुपमा लिइएका थिए। तर, हालसम्म तीन गोल गर्ने खेलाडीहरु सबै विश्वकपबाट बाहिरी सकेका छन्।
सेमिफाइनलमा पुगेका ८ राष्ट्रमध्ये क्रोएशिया र मोरोक्कोका एक एक खेलाडीले दुई गोल गरेका छन्। क्रोएशियाका आन्ड्रेज क्रमारिक र मोरोक्कोका योसुफ एन नेस्रीले दुई गोल गरेका हुन्।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १९:२१