काठमाडौं – रोजगारीका लागि साउदी अरेबिया पुगेर अनधिकृतरुपमा बसिरहेका थप ३९ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदी जवाजतको नयाँ नियमअनुसार हुरूब (कम्पनी छोडेर भागेका) लागेका ३९ जना नेपालीले उक्त भिसा पाएका हुन् ।
साउदी सरकारले लागू गरेको नयाँ कानुनअनुसार बहिर्गमन भिसा लागेका व्यक्तिहरुले बढीमा एक हप्ताभित्र साउदी छोडिसक्नुपर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ । ४ देखि ८ डिसेम्बर २०२२ को अवधिमा दमामबाट प्रोसेसिङ गर्ने जम्मा ३९ जनाले बहिर्गमन भिसा पाएको दूतावासले उल्लेख गरेको छ । हुरुब लागेका नेपालीहरुलाई एक साताभित्र साउदी छोड्न जानकारी दिँदै समयमै एक्जिट भिसाको म्याद हेर्न पनि दूतावासले अनुरोध गरेको छ । बहिर्गमन भिसा प्रोसेसिङ निःशुल्क हुने भन्दै यसबापत कुनै पनि शुल्क कतै बुझाउनु नपर्ने दूतावासले उल्लेख गरेको छ ।
इकामा (बस्ने अनुमति)को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ दूतावासले गरिदिने जनाइएको छ । त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म बहिर्गमन भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले जानकारी दिएको छ । तर, बहिर्गमन भिसा प्राप्त गरेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १३:४७