भक्तपुर – केही वर्षयता काठमाडौंमा जनसंख्या ह्वात्तै बढेको छ । बढ्दो जनसंख्याले गर्दा काठमाडौंं अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाका स्थायीवासीहरुले काठमाडौंलाई आफ्नो थलो बनाएका छन् । शिक्षा, रोजगारी, उपचारलगायतका सेवासुविधाका लागि पनि राजधानी बसोबास गर्नेको संख्यामा वृद्धि भएको हो । काठमाडौंका सबैजसो घर बहालमा लगाइएको छ । एउटै घरमा धेरै व्यक्ति कोठा बहालमा लिएर बसेका हुन्छन् । एकातिर खुला ठाउँ छैन, अर्कोतिर पानीको अभाव ।
बढ्दो जनसंख्या र अस्तव्यस्त सहरीकरणले गर्दा यहाँ पानीको हाहाकार छ । विगत धेरै वर्षदेखि यहाँ बसोबास गर्ने सर्वसाधारणले यो समस्या झेल्दै आएका छन् । लुगा धुन, नुहाउन, खाना पकाउन, सरसफाइ गर्न, शौचालय जान हरेक कामका लागि पानी चाहिन्छ । पानीविना मानिसको जीवन अकल्पनीय छ । यसलाई मध्यनजर गर्दै सरकारले मेलम्चीको पानी राजधानी ल्याएको छ । सरकारले मेलम्चीको पानी ल्याए पनि अधिकांश बस्तीमा पुग्न सकेको छैन ।
एउटा घरमा १२ देखि २० वटासम्म कोठा बहालमा लगाइएको छ । ती सबैलाई पुग्ने पानी त छैन । घरधनीको सबैभन्दा सहज आम्दानीको स्रोत भनेको कोठा बहाल नै हो । मासिक भाडा आइरहन्छ । घरधनीले मागेजति भाडा तिर्दा पनि कोठा बहालमा पाइँदैन । पैसाचाहिँ मागेजति तिर्नुपर्छ तर पानी र सेवा सुविधाचाहिँ शून्य छ । बहालमा बस्नेले पानी किनेर चलाउनुपर्ने बाध्यता छ । खानदेखि लिएर सबै कामकाजका लागि पानी किनेरै चलाउनुपर्छ ।
अहिले एक जार पानीको ५० देखि ८० रुपैयाँ लिन्छन् । ठाउँ हेरेर जारको पानीको मूल्य राखिएको छ । मिनरल वाटरको २० देखि ३० रुपैयाँसम्म पर्न जान्छ । घरधनीले ठाउँ हेरेर एउटा कोठाको चार हजारदेखि १२ हजारसम्म बहाल लिन्छन् । बत्ती, फोहोर र पानीको पैसा थप दिनुपर्छ । पानीको पैसाचाहिँ लिइरहेका छन् तर पानी सबै किन्नुपर्छ । जारको पानी किनेर कति साध्य लाग्छ ? ट्यांकरको किनेर प्रयोग गर्नु परिरहेको छ । एक ट्यांकर पानीको ३५ सयदेखि पाँच हजारसम्म लिन्छन् ।
घरधनीले ट्यांकर खरिद गर्दा लागेको रकमचाहिँ बहालमा बस्नेसँग आधाआधा गर्छ । तर, पानीचाहिँ बाल्टिनले नापेर दिन्छ । ट्यांकरहरुले खोलाबाट सीधै उठाएर र जमिनमुनिबाट बारिङ गरेर ल्याएको हुन्छ । त्यो पानी प्रयोग गर्न योग्य छ कि छैन कसैलाई थाहा छैन । ट्यांकरवालाले पानी ल्याउँछ, झारिदिन्छ, पैसा लिन्छ अनि जान्छ । तर, प्रयोग गर्न नहुने पानी पनि बिक्री वितरण भइरहेका छन् ।
उपत्यकाभित्र ६३४ वटा पानी बोक्ने ट्यांकर सञ्चालनमा रहेको बताइन्छ । तीमध्ये कति ट्यांकरहरुको आयु पुगिसकेको छ । २० वर्ष नाघिसकेका ट्यांकरहरु पनि सञ्चालनमा छन् । पुराना भएका कारणले बाटाभरि पानी चुहाउँदै ओसार्छ । पानी किन्ने सर्वसाधारणको घरको रिजर्भ ट्यांकीमा ल्याएर पानी खन्याउँदा आधा पनि आउँदैन । आधा त बाटोमा चुहिएरै सकिसकेको हुन्छ । सरकारले पानी बोक्ने ट्यांकरको वर्गीकरण गरे पनि व्यवसायीले कार्यान्वयन गरेका छैनन् ।
जनताले पानी खरिद गरेको रकम सरकारले तोकेको होइन । आफूले तिरेको पैसा महँगो हो कि सस्तो ? जनता र सरकार दुवै अनभिज्ञ छन् । ट्यांकर व्यवसायीले मान्छे हेरेर पानीको मूल्य निर्धारण गरेको छ । ट्यांकरले पानी सीधै खोलाबाट र बोरिङबाट ल्याउने हुँदा त्यस्तो पानीको प्रयोगबाट जनस्वास्थ्यमा गम्भीर असर परिरहेकोप्रति सरोकारवाला निकायको ध्यान गएको देखिँदैन । पानीका कारण हुने गम्भीर संक्रमणप्रति कसले आवाज उठाउने ?
यहाँ पानीको व्यापार चलेकै छ । उनीहरुलाई राजनीतिक संरक्षण छँदै छ । पानीको नारा लगाएर राजनीति चलाएका छन् । आखिर मारमा त उपभोक्ता नै हुन् । उपभोक्ता भनेको सर्वसाधारण जनता नै हुन् । पहुँचवाला, व्यापारी, धनी व्यक्तिहरुले यो समस्या भोग्नै पर्दैन । पानी अभावको पीडामा रहेका राजधानीवासीको आवाज कुनै दिन विष्फोट हुनसक्छ । विद्रोहको उक्त विष्फोटबाट सत्तासीन दल तथा नेताहरुले ठूलो चुनौती सामना गर्नुपर्नेछ । यथाशीघ्र यो समस्याको सम्बोधन गर्ने या चुनौती सामना गर्ने भन्नेमा गम्भीर बनून् ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १४:५६