धरहरा पुनर्निर्माणको क्रममा सुनधारामा पानी पठाउने मूल धारा नष्ट हुनेगरी डोजर चलाइएको छ । सम्पदा मास्न ठेकेदार कम्पनीबाट भएको यो लापारवाहीपूर्ण कार्य खेद्जनक छ । सुनधारा उसै पनि मानवीय अतिक्रमणका कारण संकटमा छ ।
२०७२ सालको भूकम्पले ढलेको धरहरा पुनर्निर्माण गर्ने नाममा भइरहेको यो गतिविधि स्वीकार्य छैन । त्यसो त धरहराको नाममा सेतो टावर निर्माण गरिएको भन्दै आलोचना हुँदै आएको छ । किनभने, ऐतिहासिक धरहराको भग्नावशेष जस्ताको तस्तै राखेर त्यो सँगैको स्थानमा टावर निर्माण गरिएको छ ।
डोजर चलाएर धारा नष्ट गरिएपछि धरहरा पुनर्निर्माणको काम रोकिएको छ । काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनर्निर्माणको काम तत्कालका लागि रोकेका हुन् । महानगरपालिकाले सम्पदा जोगाउनुपर्नेमा जोड दिँदै सुनधारामा पानी आउने मूल धारा नष्ट गरिएकोप्रति आपत्ति जनाएको थियो ।
साथै, उक्त स्थानमा संरचना विस्तार गर्दा महानरसँग समन्वय नगरेको महानगर प्रमु बालेन्द्र शाहले सोमबार प्रष्टीकरण दिएका थिए ।कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गर्ने तयारी गरेको थियो ।
उक्त पाइपलाई नष्ट गरेपछि धरहरा पुनर्निर्माणको बाँकी काम रोकिएको हो । धरहरा बनाउनेले सुनधारा बनाउँछन् भन्ने कुरामा विश्वास नरहेकोले अब विज्ञको रोहवरमा मात्र सुनधारा पुनर्निर्माणको काम अघि बढाउनुपर्ने उनको भनाइ छ । त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए ।
मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन हुँदैन । २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको थियो । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।
नयाँ धरहरामा बगैँचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना बनाउने योजना छ । धरहरा टावरको पुनर्निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गते नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटन भएको डेड वर्ष बितिसक्यो, तर उक्त टावर आसपासको अन्य निर्माण कार्य सम्पन्न भएको छैन ।
एकातिर पुनर्निर्माणको काममा ढिलाइ भइरहँदा सम्पदामाथि नै डोजर चलाएर ठेकेदार कम्पनीले गरेको यो गल्ती अक्षम्य छ । सम्पदामाथि डोजर चलाउने कार्य बन्द गरिनुपर्छ । यसमा महानगर, स्थानीयवासी, सम्पदाप्रेमी तथा सरोकारवाला सबैको ध्यान जान जरुरी छ । नष्ट पारिएको धारालाई फेरि पुरानै रुपमा स्थापित गर्न दबाब दिनुपर्छ । साथै, लापारवाहीपूर्ण काम गर्ने निर्माण कम्पनीमाथि कारबाहीको व्यवस्थासमेत गरिनु आवश्यक छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९ १८:४२