काठमाडौं– पाल्पाको रामपुर नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । नगरभित्रका जग्गाको भूउपयोग नीति बनाएर जग्गाको वर्गीकरण गरेको हो । भूउपयोग परिषद्को बैठकले नगरभित्रका जग्गाको वर्गीकरण गरेको हो । बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र, कृषि क्षेत्र, व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र लगाएतका क्षेत्र निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।
परिषद् बैठकले ६ मिटर चौडाइ भएको बाटोको दायाँ बायाँ ५० मिटर, ८ मिटर बाटोको दाँया बाँया ७० मिटर, १० मिटर बाटोको दायाँ बायाँ ८० मिटर र १० मिटर भन्दा माथिका मापदण्ड भएका बाटोको दायाँ बायाँ १०० मिटरसम्म आवासीय क्षेत्र निर्धारण गरेको छ । अंशबन्डा गर्दा आवास थप्नुपर्ने भए आपसी समझदारीमा मापदण्ड अनुसार बाटो विस्तार गरि आवास बनाउन सकिने निर्णय गरेको छ । साथै प्रयोगमा आएको तर श्रेस्ता कायम नभएको बाटोको मापदण्ड कायम गरी बाटो सार्वजनिक गर्न सकिने भएको छ ।
यस्तै नगरपालिका अन्तर्गत समथर भु–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दाँया बाँया क्षेत्रलाई आवासीय क्षेत्र तोकेको छ । यसैगरी कालिगण्डकी करिडोर सडकबाट एकसय मिटर दायाँ बायाँको क्षेत्रलाई व्यवसायीक क्षेत्र तोकेको छ भने रामपुर नगरपालिका वडा नं। ७ किसानबारी देखि तुरुन्दी खोलासम्मको मुलबाटोमा पर्ने विरेन्द्रटारको उत्तर तर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरेको छ ।
नगर भित्र रहेका खानी तथा खनिज क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र बाहेकका अन्य क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरेको रामपुर नगरपालिकाका नगर प्रमुख तथा भूउपयोग परिषदका अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए ।
बैठकले भूउपयोग वर्गीकरण सम्बन्धी कुनै फैसला अदालतबाट भएर आएमा सोही बमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको छ । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरि जग्गाको वर्गीकरण गरिएको हो । जग्गाको वर्गीकरण गरि नगरपालिकाले संघमा पेश गरेको छ । संघबाट स्वीकृत भई आएमा नगरभित्रका जग्गाको कित्ताकाट गरी बिक्री गर्न सकिने थापाले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ११:००