काठमाडौं– निर्वाचन आयोगले मंसिर चारमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।
राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्।
आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९ ११:५८