चितवन— चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ स्थित रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० संकलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ ।
रंगशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ ।
महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए ।
स्थानीयस्तर, सङ्घसंस्था, गैरआवासीय नेपाली, पालिकाहरू, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकूद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरूबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ ।
यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ०८:४९