काठमाडौं – पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्ड समूह ‘बी’ को विजेता बनेको हो ।
न्यू डायमण्डले ढोरपाटनमाथि २५–३, २५–१६ र २५–१२ को सेटमा जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । जितसँगै समूह ‘बी’ को न्यू डायमण्डले ५ अंक जोड्यो । दुई खेलमा हार व्यहोरेको ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।
यस समूहमा ४ अंक जोडेको नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । अब न्यू डायमण्डले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यस्तै पुलिसले समूह ‘ए’ को विजेता एपीएफसँग खेल्नेछ । साविक विजेता समेत रहेको एपीएफले मंगलबार आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेता बनेको थियो । विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–११ ले पराजित गरेको थियो । जितसँगै समूह ‘ए’ को एपीएफले समूह चरणमा तीन खेलमा ३ जितसहित ९ अंक जोड्यो । एपीएफले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई हराएको थियो ।
आर्मी भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । आर्मीले ३ खेलमा ६ अंक जोड्यो । आर्मीले यस अघि भरतपुर र जावलाखेललाई नै हराएको थियो । यस समूहबाट भरतपुर र जावलाखेल भने समूह चरणबाट बाहिरिएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५÷२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर, ब्लकर, लिफ्टर र प्रशिक्षकले जनही १०÷१० हजार पाउने छन् ।