भीमदत्तनगर – केही समययता तस्करको बिगबिगी बढेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा एउटा चितुवा परेपछि त्यसको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली खटिएको छ ।
भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सोबारे सीमा प्रहरीचौकी ब्रह्मदेवलाई जानकारी गराएलगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो । तस्करले चितुवा मार्न पासो थापेका वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले प्रारम्भिक अनुसन्धानका क्रममा थाहा भएको बताउनुभयो । उहाँले चितुवा जिउँदै भएको र त्यसको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली मगाइएको बताउनुभयो ।