काठमाडौं- भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क्षेत्रको उच्च पहाडी भेगमा हिमपात साथै केही क्षेत्रमा हल्का वषाकोसमेत सम्भावना रहेको जानकारी दिए । उनले भने , “विहारमा न्यूनचापीय प्रणालीको सानो प्रणाली देखापरेकाले देशका पूर्वी भेगमा बादल बढ्ने र हिमपात हुने सम्भावना छ, केही क्षेत्रमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।”
विशेषगरी प्रदेश १ र बागमती प्रदेशमा बढी बद्ली रहने मौसमविद् अधिकारीले उल्ललेख गरे । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहनुका साथै बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ ।
ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिका समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । राजधानी काठमाडाँै उपत्यकाको आकाश बिहान सामान्य बद्ली रहे पनि मध्याह्नदेखि पारिलो घाम लागेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १४:४१