काठमाडौँ– संस्थापनइतर समूहबाट नेपाली कांग्रेसको संसदीयमा महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन् । मंगलबार बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेता शेखर कोइराला भने थापाको प्रस्तावकमा बस्ने छन् । शीर्ष नेताहरू बसेर गरेको सो निर्णय आफ्नो समूहका नेता र सांसदहरुलाई सुनाउने तयारी छ ।
संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ ।
तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् । संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १२:२४