काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दैछन् ।
नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेकाे छ ।
यसका लागि सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ ।
यसका साथै मातृभाषामा शपथ लिन चाहने सांसदलाई आज बिहान ११ बजेसम्मको समय दिइएको छ ।
हिजोसम्म २६ जनाले नेपाली बाहेकका अन्य १४ वटा मातृ भाषामा शपथ गर्नका लागि संसद सचिवालयमा जानकारी गराएको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ ०८:१२