सुर्खेत–महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन बिषयक प्रदेश स्तरीय एक दिने अन्तरक्रिया बुधबार सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयोजित सो कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छाउपडी प्रथा मुलभूत रूपमा मनस्थितीबाटै हटाउनुपर्ने धारणा राखे । उनले छाउपडीसँगै बालबिवाह, दाईजो प्रथा जस्ता सामाजिक अपराध अन्त्य गर्नका लागि प्राप्त कानूनी अधिकारको प्रयोग गर्न नेपाल प्रहरी दृढ संकल्पीत रहेको बताए । उनले कारवाहीले मात्रै सबै समाधान नहुने उल्लेख गर्दै समुदायको साथ र सहयोग तथा समुदायले आङ्खनो जिम्मेवारी निर्वाह गरेमा यस्ता सामाजिक अपराध अन्त्य गर्न ठूलो उर्जा मिल्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, सो जिल्ला अन्तर्गत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरू, भगिनी संगठनका प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, धामी, झाक्री, किशोर किशोरी समूहका प्रतिनिधिहरू, सामाजिक परिचालक, परिचालिका, आमा समूहका प्रतिनिधिहरू, स्वास्थ्य स्वयमसेविका, महिला सहकारी संस्थाका प्रतिनिधि, निगरानी समूहका प्रतिनिधि, स्थानीय संचारकर्मी तथा स्थानीय भद्र भलाद्मीहरूको सहभागिता रहेको थियो ।
त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशीको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिका–७ पैसारास्थित मालिका माविको प्राङ्गणमा छाउपडी प्रथा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
छाउपडी प्रथा सम्बन्धी सो सचेतनामूलक कार्यक्रममा पञ्चपुरी नगरपालिका–७ का वडा अध्यक्ष, वडा सदस्य, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थीहरू लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ ०८:२०