काठमाडौं - संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको संसद् यात्रा बिहीबारदेखि औपचारिकरुपमा सुरु भएको छ । पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरुको पाँच वर्षे कार्यकाल सुरु भएको हो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरूलाई शपथ गराए ।
शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद् सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बोलाएको सर्वदलीय बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० गरी कूल २७५ सांसद निर्वाचित भएका छन् ।
निर्वाचित सांसदहरुमध्ये बिहीबारको शपथ ग्रहणमा १७ जना सांसद अनुपस्थित रहे । उनीहरुलाई पुनः शपथ गराइने संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ ०८:४२