बिहीबार शपथ ग्रहण गरेसँगै प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको कार्यकाल औपचारिकरुपमा सुरु भएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।
शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगे थिए । जुन दृश्यले विविधतायुक्त मुलुकको वास्तविक अनुहार झल्काएको थियो ।
साथै, २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिए । यसले विभिन्न मातृभाषा बोल्ने समुदायहरुको प्रतिनिधित्व संसद्मा झल्काएको छ । त्यतिमात्र होइन मुलुकभित्र बोलिने सबै भाषालाई राष्ट्र भाषा मान्ने नेपालको संविधानमा उल्लिखित व्यवस्था व्यवहारमा कार्यान्वयन भएको अनुभूति गराएको छ ।
शपथ ग्रहणसँगै आफ्नो काँधमा थपिएको जिम्मेवारी सांसदहरुले भुल्नु हुँदैन । सांसदहरुको मुख्य भूमिका भनेको मुलुकको लागि आवश्यक कानुन निर्माण गर्ने हो । संविधानमा उल्लिखित व्यवस्थाहरुलाई कार्यान्वयनमा ल्याउन आवश्यक ऐन कानुन निर्माण गर्न उनीहरुले अग्रणि भूमिका खेल्नुपर्छ । यस्तो ऐन कानुन निर्माण गर्दा मुलुक र जनताको हितमा हुनुपर्छ ।
ऐन कानुन कसैको स्वार्थप्रेरित हुनु हुँदैन । यदि त्यसरी ऐन कानुन बनाउन खोजिए सांसदरुले इमान्दार भएर त्यसको विपक्षमा उभिनुपर्छ । सीमित व्यक्ति वा समूह वा व्यवसायीको फाइदाका लागि नयाँ ऐन, कानुन बनाउने वा पुरानोलाई संशोधन गर्ने कार्यलाई रोक्नुपर्छ । यसका लागि सांसदहरु सशक्तरुपमा उभिन जरुरी छ ।
साथै, यी कानुनहरुको कार्यान्वयन गराउन सरकारलाई निर्देशित गर्ने भूमिकामा पनि सांसदहरु रहन्छ ।अहिले मुलुकको मुख्य सवाल भनेको विकास र समृद्धि हासिल गर्नु हो । यो सम्पूर्ण नेपालीको चाहना, सपना हो । रोजगारीका लागि विदेशिन नपरोस्, आफ्नै देशमा उच्च शिक्षा, स्वास्थ्यको व्यवस्था होस् भन्ने चाहना छ ।
यसका लागि राजनीतिक स्थायित्व पहिलो सर्त हुने गर्दछ । विगतमा अस्थिर राजनीतिकै कारण मुलुकले अपेक्षित फड्को मार्न नसकेको हो । त्यसैले अब राजनीतिक स्थायित्व कायम गरी विकास र समृद्धिको लक्ष्यमा पुग्ने मार्ग तय गर्न नवनिर्वाचित सांसदहरुले भूमिका खेल्नुपर्छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमिततालगायतका विकृति नियन्त्रणमा सशक्त भूमिका खेल्नुपर्छ । चुनावमा जनतासमक्ष गरेका वाचाहरु पूरा गर्न इमान्दारिताका साथ लाग्नुपर्छ । जनताले ठूलो आशा र भरोसासहित जिताएर पठाएका छन् । आगामी पाँच वर्षमा मुलुकलाई कस्तो बनाउने ? कुन दिशामा मुलुकलाई लैजाने ? भन्ने जिम्मेवारी जनताले सांसदहरुको हातमा सुम्पिएको छ । यो जिम्मेवारीमा सांसदहरु चुक्नु हुँदैन ।
मुलुकमा पटक–पटक व्यवस्था फेरियो तर देश र जनताको अवस्था फेरिन सकेको छैन । विभिन्न आन्दोलनबाट प्राप्त वर्तमान संघीय व्यवस्थालाई समृद्ध बनाउनुपर्ने आजको आवश्यकता हो । यो व्यवस्था आएको धेरै समय भएको छैन । यद्यपि, यो व्यवस्थाप्रति असन्तुष्टिका आवाजहरु उठ्न थालेका छन् । व्यवस्था परिवर्तनका कुरा पनि उठेका छन् ।
तर, व्यवस्था परिवर्तन समाधान होइन । यसमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ । यसतर्फ सांसदहरुको ध्यान जान जरुरी छ । आगामी पाँच वर्षमा जनअपेक्षा पूरा हुनेगरी काम गर्न सफल होस्, नवनिर्वाचित माननीयहरुलाई शुभकामना !
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ ११:२१