मेलबर्न – नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा तेस्रो हार व्यहोरेको छ । बुधबार भएको लिगको १३ औं खेलमा एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित हुँदै मेलबर्नले तेस्रो हार व्यहोरेको हो ।
एडिलेडमा घरेलु टोलीले दिएको १ सय ६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन मात्र बनायो । पिटर ह्यान्ड्सकम्पले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
मेलबर्नलाई सस्तैमा समेट्न एडिलेडका पिटर सिड्लले ४ विकेट लिए । वेस अगरले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
एडिलेडका लागि जोनाथन वेल्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एलेक्स केरीले ३३ रन जोड्दा फिल साल्टले २२ रन बनाए । म्याथ्यु शर्ट २३ रनमा अविजित रहे । मेलबर्नका क्लिन्ट हिन्चिल्फीले ३ विकेट लिए । ग्लेन म्याक्सवेलले १ विकेट लिए । सन्दीप विकेट विहीन बने । सन्दीपले ३ ओभरमा २४ रन खर्चिएर विकेट लिन सकेनन् । यस सिजन सन्दीपले अघिल्ला ११ खेलमा १४ विकेट हात पारेका थिए । मेलबर्नलाई हराएसँगै एडिलेडले १२ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । मेलबर्न १३ खेलमा २० अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ ०९:४१