कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको गब्दाहावाको जग्गा प्राप्तिमा ढिलाई भए पछि कपिलवस्तु नगरपालिकाले छाडा गाई गोरुको व्यवस्थापनको कार्य अघि बढाएको छ।
कपिलवस्तुको तौलिहवाको स्थानीय स्तरबाट व्यापक जन गुनासो बढे पछि कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ चपरतल्ला स्थित सार्वजनिक जग्गामा अस्थायी गौशाला निर्माणको काम अघि बढाएको हो। कोलोनिकाको उत्तर र दक्षिण तर्फको ८ बिघा क्षेत्रफलमा नगरपालिकाले अस्थायी तारबारको काम अघि बढाएको हो। कोलोनिकाको उत्तर तर्फको २ बिघा क्षेत्रफलमा तारबारको काम सकिएको इन्जिनियर सत्यम बर्माले बताए।
तारबार सकिएको एउटा गौशालामा छाडा गाई गोरु अब राख्न सकिने उनले बताए। दक्षिण तर्फको ६ बिघा क्षेत्रमा समेत तारबारको काम जारी रहेको छ। यो निर्माण सम्पन्न हुन ५ दिन लाग्ने इन्जिनियर बर्माले बताए।
तारबारको काम सकिए पछि दुबै स्थानमा सेड समेत निर्माण गरिनेछ। गाई गोरुको व्यवस्थापनका लागि चाहिने हेरालु, पराल, पानी लगायतको समेत व्यवस्था गरिने छ। ‘छाडा गाई गोरुको कुरा सुन्दा सुन्दा लाजै लाग्न थाल्यो, त्यसैले तत्कालकालागि भए पनि चपरल्ल्लामा अस्थायी व्यवस्थापनका काम अघि बढाएको हौ’ उनले भने।
छाडा गाई बस्तुको व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक बर्ष १५ लाख रकम विनियोजन गरेको छ। गत साउन मै गाई गोरुको व्यवस्थापनका लागि बुद्धभुमी नगरपालिकाको गब्दाहवामा स्थलगत अनुगमन पछि काम अघि बढाइएको थियो। बुद्धुभुमी नगरपालिकाले करिब डेढ सय बिघा क्षेत्रफलको गौशाला निर्माणका लागि आवश्यक तयारी समेत गरेको थियो।
प्रदेश सरकारले समेत त्यहाँ गौशाला निर्माणका लागि सहयोग गर्ने जनाए पनि अझै सम्म जग्गाको टुङ्गो नलाग्दा काम रोकिएको बुद्धभुमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठले बताए। ‘हामीले धेरै प्रयास गर्यौ तर वनको जग्गा पाउन गाह्रो परेकोले काम अलपत्र परेको छ ’ उनले भने।
कपिलवस्तु, बुद्ध्भुमी र शिवराज नगरपालिकाले गब्दाहवामा गौशाला निर्माण कालागि संयुक्त पहल गरेको थियो। मेयर सुदीप पौडेलले अब गब्दाहवामा गौशाला निर्माणको काम गाह्रो देखिएकाले नगरपालिकाले स्थायी गौशाला नगरपालिका वडा नम्बर १२ सौराहाको सार्वजनिक जग्गामा गर्ने बताए।
त्यहाँ कब्जा गरी बनाइएको संरचना हटाउन सूचना समेत जारी गरिएको छ। छाडा गाई गोरुको व्यवस्थापन नहुँदा कृषकहरू चरम मर्कामा परेका छन्। यस्तै गाई गोरुको समेत बेहाल भएको छ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १२:३८