
काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बुधबार सम्पन्न खेलमा जित हात पार्दै अंकतालिकामा मछिन्द्र फुटबल क्लब त्रिभुवन आर्मी क्बलसँगै बराबरी गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रका रञ्जीत धिमालको निर्णायक गोलमा बलियो टोली नेपाल प्रहरीको पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्जीतले गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा उनले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।
पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।
पुलिसले ८ खेलमा ११ अंक जोडको छ । लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ । पुलिसलाई हराएपछि मछिन्द्रका कप्तान खुसी देखिए । तर, टिमको तालमेलमा अझै सुधार गर्नुपर्ने देखिएको बताए । ‘तीन अंक आउँदा खुसी छु । तर, सोचेजस्तो खेल भएन । राम्रो टिम छ अझै स्कोर भएन । मौका बनाउन सकेनौं,’ उनले भने, ‘टिममा तालमेल नमिलेजस्तो भईरहेको छ । खेलाडी हतारिएको जस्तो देखियो ।’
पुलिसका प्रशिक्षक अनन्त थापाले गोलरक्षकको सानो गल्तीले हार व्यहोरेको बताए । ‘हाम्रो लागि महत्वपूर्ण खेल थियो । तर, स्कोर नहुदा गाह्रो भयो । एउटा राम्रो टिम हो भनेर खेल्यौं तर कर्नर साइडबाट गोल खाँदा गाह्रो भयो । फुटबलमा यस्तो गोल हुनुहुँदैन,’ उनले भने, ‘गोलरक्षकको गल्तिले हार्न पुग्यौं । यस्तो गोल खाँदा च्याम्पियन बन्न गाह्रो हुन्छ । टर्निङ प्वाइन्ट यहि भयो ।’