पोखरा– प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीले बिहीबार मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेलगत्तै सांसद मनाङेलाई लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो । गण्डकी प्रदेशमा आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व सांसद मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको र यसविरुद्ध अध्यक्ष गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए ।
मनाङेले झापड हानेको स्वीकार गरेका छन् । उनीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूले हातपात गरेको नभएर झापड नै हानेको बताएका थिए । पीडित गुरुङले जाहेरी दिनुपूर्वको पत्रकार सम्मेलनमा शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरू लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफ्नो जिउ धनको सुरक्षा हुनुपर्ने बताएका थिए ।
अनुसन्धानको क्रममा आवश्यक परेका कदम उठाउने प्रहरीले जनाएको छ । गुण्डा नाइके पृष्ठभूमिका मनाङे सांसद बनेका थिए ।