काठमाडाैं - देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाडाैको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ ।
न्यूनतमसँगै देशभरकै अधिकतम तापक्रम पनि घट्न थालेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको हो ।
हिजो ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिएका छन् ।
देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ । विरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ ।
यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ ।
डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ । आज डिसेम्बर २८ तारिख हो । आउँदो आइतबारदेखि जनवरी सुरु हुन्छ ।
अहिले पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ ०८:०८