काठमाडौं– नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकार दिए।
अध्यक्ष केसीले भने, “दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत छलफलपछि उहाँलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो ।”
दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको थियो । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरेका उनले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन्।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १५:१४