विराटनगर– सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी बिहीबार भारततर्फ भागेका छन् । उनीसँगै रहेको सुरक्षाकर्मी फिर्ता गरेर भारततिर भागेको स्रोतको भनाइ छ । उच्च अदालत विराटनगरले बलात्कार आरोपमा उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिनुअघि नै उनी भारत भागेका हुन् ।
जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले बिहीबार साँझ यस्तो आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गत १४ पुसमा सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । त्यसलगत्तै सिद्धबाबाले साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।
उच्च अदालतबाट जिल्लाको आदेश बदर गरी सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिएका छन् ।
उच्च अदालत विराटनगरमा आफूविरुद्धको जवरजस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला सिद्धबाबा भने बिहीबार दिउँसो निजी सुरक्षा गार्डलाई नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाएर उनी भारततर्फ भागेको जनाइएको छ ।
उनी आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो चढेर भारततिर लागेको स्रोतको भनाइ छ । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो ।
केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेको बताइएको थियो । तर, उनी अदालत नगई सिधै जोगवनी हानिएका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाका अनुसार उनी एकक्षण पारि पुगेर आउँछौँ भन्दै निजी सुरक्षा गार्डलाई सीमामा झारेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएका गएका थिए ।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा ४ कात्तिकमा बलात्कार गरेको एक महिलाले किटानी जाहेरी दिएपछि सिद्धबाबालाई १६ मंसिरमा पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।