बेइजिङ- चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा कोभिड–१९ सङ्क्रमणले चरम सीमा नाघेको बताएका हुन्
देशभर हाल कोरोना सङ्क्रमित अधिक भए पनि हरेक प्रान्त र प्रदेशमा सङ्क्रमण दर फरक रहेको तथा सबैतिरको अवस्था एकै किसिमको नभएको सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयुले विहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
राज्य परिषद् सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बेइजिङ, तियानजिन, हेबेइ, छन्दु, चोङकिङ तथा मध्य चीनका केही प्रान्तमा अन्य प्रान्तको तुलनामा सङ्क्रमण चाँडो फैलिएको र त्यो क्रमशः शिथिल हुँदै गएको जानकारी दिँदै प्रमुख वुले साङ्घाई, चोकिङ, आन्हुई, हुबेई, हेनान, जिलिन र फुजियानमा तुलनात्मक रुपमा तीव्र गतिमा फैलिएको बताए ।
ठूला र सघन जनसङ्ख्या भएका शहरमा भाइरस द्रुत गतिमा फैलिएको, जनसङ्ख्या र आकारका दृष्टिले साना र मध्यम शहरमा सङ्क्रमणको फैलावट पनि मन्द रहेको बताउँदै केन्द्रप्रमुखले चिसोमा सङ्क्रमणको थप जोखिम हुने, आगामी वसन्तोत्सवमा भीड हुनसक्ने भएकाले त्यसबाट बच्नुपर्नेमा उनले जोड दिएका छन् ।
महामारीको अवस्थालाई सबै स्थानीय तहले विश्लेषण एवम् अनुगमन गरी सर्वसाधारणको जीवनमा परेको प्रभाव कम गर्ने प्रयास जारी रहेको उनले बताए ।