काठमाडौं- सरकारले विदेशबाट उपहारमा ल्याइने मोबाइल भन्सार व्यवस्था कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ ।
भन्सार विभागले विमानस्थल भन्सार कार्यालयहरूलाई आज १५ पुसबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको हाे ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताएका छन् ।
‘हामीलाई हिजो बेलुका नयाँ लागू गर्न खोजिएको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन आएको छ,’ उनले भने,’हामीले प्रज्ञापनपत्र दिएका छैनौं ।’
सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्ने व्यवस्था गरेको थियो ।
यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १४:१३