चितवन–२०२३ को पूर्व सन्ध्यामा चितवनका पर्यटकीय क्षेत्रका होटल भरिन सुरु भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौली क्षेत्रका ठूला होटल भरिएका हुन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् ।
अंग्रेजी नयाँ वर्षको अघिल्लो दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायीहरूको भनाइ छ ।
सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको बताए । अध्यक्ष तिवारीले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’
सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आएका माधव दवाडी दुई दिनयता दुवै होटल भरिएको बताउँछन् । होटल सेभेन स्टारमा आज सांगितिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको जानकारी दिए ।
दवाडीले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले अधिकांश होटल भरिएको बताए । महासचिव थपलियाले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ ।’
विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ । पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् ।
मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको बताए । उनले भने, ‘अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।’
जंगल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए । क्षेत्रीय होटल संकका अध्यक्ष दीपक भट्टराईले क्रमश पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने बताए ।
पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन् । संघमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् ।
भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुंगा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् ।
थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् । कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन् ।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ ११:०८