भारत - अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ औपचारिक रूपमा शुरू भएको छ । सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गर्ने संयुक्त राष्ट्रसङ्घको महासभाको प्रस्तावको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले गरेको थियो । प्रस्तावलाई ७२ देशले समर्थन गरेका छन् । महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा सन् २०२१ को मार्चमा गरेको थियो । भारतले कोदोको महत्वलाई पहिचान गर्न र समुदायलाई पौष्टिक भोजन प्रदान गर्नुका साथै घरेलु र विश्वव्यापी माग सिर्जना गर्न जोड दिएको छ ।
उच्च प्रोटिन स्तर र अधिक सन्तुलित एमिनो एसिड प्रोफाइलको कारण कोदो गहुँ र चामलभन्दा पौष्टिक रूपमा उत्तम छ । कोदोमा विभिन्न ‘फाइटोकेमिकल्स’ पनि हुन्छन् जसले मानिसको ‘एन्टी–इन्फ्लेमेटरी’ र ‘एन्टी–अक्सिडेटिभ’ गुणहरूको कारण चिकित्सीय गुणहरू प्रयोग गर्दछ । यसबाहेक, कोदो भिन्नभिन्न हावापानीमा लगाउनसकिने हुँदा कोदोलाई विश्वभर उत्पादन गर्न सकिन्छ । कोदो कार्बोहाइड्रेट, प्रोटिन, आहारजन्य फाइबर र राम्रो गुणस्तरको चिल्लो पदार्थजस्ता पोषक तत्वहरूको समृद्ध स्रोत हो । क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, म्याग्नीज, जिंक र बी कम्प्लेक्स भिटामिनजस्ता खनिजहरू यसमा पाइन्छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा, कोदो उत्पादनका लागि रासायनिक मलको प्रयोग आवश्यक पर्दैन । परम्परागत रूपमा कोदोको खपत गरिन्थ्यो, तर सन् १९६० को दशकमा हरित क्रान्तिमार्फत खाद्य सुरक्षालाई दिइएको धक्काका कारण कोदोको खपत कम भयो र लगभग बिर्सियो । भारतमा हरित क्रान्ति अघि, कोदोले सबै खेती गरिएको अन्नको लगभग ४० प्रतिशत हिस्सा ओगटेको थियो, जुन पछिल्ला वर्षहरूमा लगभग २० प्रतिशतमा झरेको छ । कोदोको खपत घटेको मात्र होइन, उत्पादन हुने क्षेत्रलाई व्यावसायिक बाली, तेलहन, दलहन र मकैले प्रतिस्थापन गरेको छ । भारतमा १७० लाख टनभन्दा बढी कोदो उत्पादन हुन्छ । यो एसियाको ८० प्रतिशत र विश्व उत्पादनको २० प्रतिशत हो ।
भारत सबै नौ सामान्य ज्ञात कोदोका प्रजाती उत्पादन गर्दछ र विश्वमा कोदोको सबैभन्दा ठूलो उत्पादक र पाँचौं सबैभन्दा ठूलो निर्यातक हो । भारतका अधिकांश राज्यहरूले एक वा एक भन्दा बढी कोदो बाली प्रजातिहरू उत्पादन गर्छन् । राजस्थान, उत्तर प्रदेश, हरियाणा, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु, आन्ध्र प्रदेश र तेलङ्गाना कोदो उत्पादनका लागि प्रमुख राज्यहरू हुन् । भारतले सन् २०२१÷०२२ मा तीन करोड ४३ लाख २० हजार अमेरिकी डलर बराबरको कोदो निर्यात गरेको थियो ।
सन् २०२०/०२१ मा भारतले दुई करोड ६९ लाख ७० हजार अमेरिकी डलर बराबरको कोदो निर्यात गरेको थियो । यो निर्यात सन् २०१९÷०२० मा दुई करोड ८५ लाख अमेरिकी डलर निर्यात गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, साउदी अरब, लिबिया, ओमान, इजिप्ट, ट्युनिसिया, यमन, बेलायत र अमेरिका भारतको प्रमुख कोदो निर्यात हुने देशहरू हुन् । इन्डोनेसिया, बेल्जियम, जापान, जर्मनी, मेक्सिको, इटाली, अमेरिका, बेलायत, ब्राजिल र नेदरल्याण्ड्स कोदो आयात गर्ने प्रमुख देशहरू हुन् ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ ०९:०७