धनगढी– पाँचौँ हाइलेन्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता १७ माघदेखि धनगढीमा आयोजना हुने भएको छ । प्रतियोगिताको बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा स्थानीय धनगढी रंगशालामा १७ माघदेखि २५ गतेसम्म प्रतियोगिता हुने बताइएको छ ।
प्राविधिक कारणले दुईपटक मिति सारेकोमा पाँचौँ संस्करणको तयारी तीव्र गतिमा रहेको क्लबका अध्यक्ष खेम रावतले बताएका छन् । प्रतियोगिताको ट्रफी भने पहिले नै सार्वजनिक गरेको थियो । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रूपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ७ सय नगद पाउनेछन् भने सबै धनराशी जोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।
साथै आयोजकले खेल हेर्न दर्शकलाई टिकटको व्यवस्था गरेको छ भने विद्यार्थीका लागि ५० रुपैया र अन्य दर्शकलाई एक सय रूपैयाँ टिकट दरसमेत तोक्ने निर्णय क्लबले गरेको मिश्रले बताए । प्रतियोगिताको पाँचौँ संस्करणको मुख्य प्रायोजक, सह–प्रायोजक र टिकट प्रायोजकसँग सम्झौतासमेत भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हाइलेन्डर प्योर ह्वाइट भोड्का रहने भएको छ ।
प्रतियोगिताको पाँचौँ संस्करणको नाम हाइलेन्डर फारवेष्ट पशुपति कप २०७६ रहने भएको छ । प्रायोजन सम्बन्धि सम्झौतामा आयोजक फारवेष्ट पशुपति युवा क्लबका तर्फबाट अध्यक्ष खेम रावत र हाइलेन्डर डिष्ट्रिलरी प्रालिको उत्पादन हाइलेन्डरका तर्फबाट एरिया सेल्स म्यानेजर तारा पन्तले हस्ताक्षर गरेका थिए ।
यस्तै प्रतियोगिताको सह–प्रायोजकका रूपमा एडभेन्चर वेष्ट होलिडेजसँग पनि सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एडभेन्चर वेष्ट होलिडेजका सिइओ दीपक बमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी टिकट प्रायोजकको रूपमा एक्सप्रेस अटो केयरसँग पनि पत्रकार सम्मेलनमै सम्झौता गरिएको छ । क्लबका अध्यक्ष रावत र एक्सप्रेस अटो केयरका सिइओ कृष्ण बोहोरा बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सुदूरपश्चिममा एकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति युवा क्लब छैँटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । यसअघि सम्पन्न चौथो संस्करणमा विजेताले ४ लाख तथा उपविजेतालाई दुई लाख पुरस्कार प्रदान गरिएको थियो ।