काठमाडाैं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डाैमा सञ्चालन भइरहेकाे नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा फिक्सिङ/स्पट फिक्सिङ भएकाे भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
आज बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएकाे यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङकाे बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेकाे छ ।
यसबारेमा क्यानकाे केन्द्रीय कार्यालय वा अहिले चलिरहेकाे नेपाल टी–२० लिगकाे एन्टी करपशन युनिटमा उजुरी बुझाउन विज्ञप्तिमा भनिएकाे छ ।
यसैबीच गृह मन्त्रालयले नेपाल टी–२० क्रिकेट लिगका बारेमा सत्य/तथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
लिग विवादमा परेपछि मन्त्रालयले हिजो मङ्गलवार एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्कबाहिर रहेको र खेलाडीको पारिश्रमिकमा अनियमिता भएकोबारे आवश्यक छानबिन गर्न भनेको हो ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १७:३९