काठमाडाैं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् ।
पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाण्डाै जिल्ला कमिटीले आज बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनले बताएका हुन् ।
अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युराे बैठकले सरकारमा जाने/नजानेबारे निर्णय नलिएको बताए । प्रचण्डको अनुहार हेरेरभन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरूको गतिविधिलाई हेरेर पुस २६ गते नै त्याे निर्णय गर्न आफूहरू तयार रहेको उनकाे भनाइ छ ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताएका छन् । उनले पार्टीका सांसदहरूलाई सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला दलको ह्विप लाग्ने भन्दै सचेत गराएका छन् ।
उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदहरूलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिरसमेत गरे । राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदहरूलाई ह्विप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ थियो ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १७:४८