काठमाडाैं - नेपालको लोक सङ्गीत क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको १७औँ साधारणसभा तथा छैटौँ अधिवेशनको बुधबार उद्घाटन गर्दै प्रतिष्ठानका अध्यक्ष रमेश विजीले लोकदोहोरी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताएका हुन् ।
उहाँले देशको पहिचान लोक सङ्गीत भएकाले यसको संरक्षणमा सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा, पूर्वअध्यक्ष अमर विरही गुरुङ, दुर्गा रायमाझीलगायतले अधिवेशनले नेपालको गीत, सङ्गीतलाई माया गर्ने र यसको विकासमा लाग्ने नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।
नेपालको लोकसंस्कृतिको जर्गेना गर्ने मुख्य उद्देश्यका साथ विसं २०५७ मा स्थापना भएको उक्त प्रतिष्ठानमा देशभर हाल ३० हजारभन्दा बढी कलाकार आबद्ध रहेका छन् ।
उक्त प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको जिल्ला सदरमुकाम धादिङबंँसीमा हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ ०८:३४