इतिहासकै बलियो सरकार भएको दाबी गरिए पनि उसले जनतालाई शान्ति सुरक्षा दिन सकेको छैन । जनताको धन र उसको ज्यानको सुरक्षा गर्न नसक्ने सरकार बलियो कसरी भयो ? एक महिलाले घरभित्र नछिरिन्जेल आफू सुरक्षित भएको महसुस गर्दिनन्, एक व्यक्ति जो घरबाहिर गएपछि घरभित्र नछिरिन्जेल घरका मान्छे ढुक्क हुने अवस्था नहुँदा पनि सरकारले आपूmलाई बलियो भनेर भाषण छाँट्ने स्विकृति कस्ले दियो ? जनताको सुरक्षा गर्न नसक्नेले अनेकौँ भाषण छाँट्ने हैसियत राख्दैन । सभामुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले जनताको छोरीमाथि बलात्कारको प्रयास गर्छ । देशलाई रणभूमि बनाउने योजनाका साथ आएको विभिन्न परियोजनालाई सहर्ष स्वीकार गरिन्छ भने अब सरकारमाथि कसरी विश्वास गर्ने ? त्यसमाथि सांसदले एक सर्वसाधारणमाथि हातपात गर्छन् । जनता सुरक्षित छैनन्, तर सरकारले सुरक्षाको नाममा ध्वाँस पिटेर हिँड्छ ।
यता, नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभित्र निर्माण व्यवसायीहरूले काम गर्ने वातावरण नरहेको जनाएको छ । राज्यले निर्माण व्यवसायी र उनीहरूका उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन सकेको छैन । यसअघि महासंघका तत्कालीन अध्यक्षको हत्या भयो । राज्य निर्माण व्यवसायीहरूलाई सुरक्षा दिन असफल भएको बखत सरकार कसरी बलियो भयो ? हुन पनि ३÷४ महिनाको अवधिमा व्यवसायीका करोडौँको उपकरणमा आगजनी गरिएको छ । असुरक्षाका कारण साइटमा मजदुरहरू बस्न सक्ने अवस्था छैन । सरकारले उनीहरूलाई सुरक्षा दिनु नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी छ । तर, उस्ले गोयबल्स शैलीमा आफू ठीक भन्दै अघि बढ्ने गरेको छ । आफूले राम्रो कामको प्रचार नगरेको भन्दै स्वयं प्रधानमन्त्रीले सम्पादकहरूको आलोचना गर्नु सबैभन्दा ठूलो कमजोरी हो । टोलटोलमा गुन्डाराज चल्न थालेको छ । प्रहरीले पनि तिनै गुन्डाहरूको रक्षाकवच बन्ने काम गर्दै आएका छन् । आफू सुध्रिनुको सट्टा उसले जनताको बेइज्जत गर्ने काम गरेको छ । प्रहरी सही थिए भने क्विन्टलका क्विन्टल सुन छिराउन सहयोग गर्ने प्रहरीमाथि कारबाही खै ? आज जस्को मानो खाइरहेका छन् प्रहरीले तिनैको अपमान गरेका छन् । जनताले छाक काटेर तिरेको करबाट तलब भत्ता लिने प्रहरीले आज तिनै जनताको मानमर्दन गरेको छ ।
सर्वसाधारणलाई ‘तँ’ जस्तो अपमानित साइनोबाट बोलाउने र त्यसको प्रतिवाद गर्दा उसैविरुद्ध पक्राउ पूर्जी जारी गरेर जनताको अपमान गरेका छन् । नेपाल प्रहरीको व्यवहारबाट जनता खुसी छन् कि छैनन् ? भन्ने जनमतसंग्रह ग¥यो भने ९९ प्रतिशत मतका साथ प्रहरी पराजित हुनेछ । यस्तो अवस्थामा प्रहरीले एक गायिकालाई पक्राउ गरेर उसले जंगे शैलीमा अघि बढ्न खोजेको अनुमान गर्न सकिन्छ । गायिका गल्ती नै रहिछन् तर प्रहरीले तँ भन्ने साइनोले बोलाउनु ठीक छ कि बेठिक ? यसको छानबिन गर्नुपर्छ कि पर्दैन ? प्रहरीको बर्दीको गलत फाइदा लिने गरी आज सर्वसाधारणलाई पक्राउ गर्ने भनेर अफहवा फैलाएर जनतालाई आतंकित पार्ने काम प्रहरीबाट भइरहेको छ । निर्माण व्यवसायीलाई सुरक्षा दिनु नसक्ने प्रहरी संगठनले आफ्नो गल्ती ढाकछोप गर्न सर्वसाधारणलाई पक्राउ गरेर बहादुरी देखाउँछ भने यो सबैभन्दा ठूलो उसको भुल हुनेछ । टोले गुन्डाहरूले पनि व्यवसायीहरूलाई दुःख दिँदा सुरक्षा दिनु हम्मेहम्मे पर्ने प्रहरीले कुन हैसियत देखाउन जनतामाथि जंगेशासन चलाउन खोज्दै छ ?
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६ ०८:५९