काठमाडौं– बलिउडका फरक धारका निर्देशकका रूपमा चिनिएका एआर मुर्गादोस निर्देशित फिल्म ‘दरबार’ले बक्स अफिसमा २ सय करोडको आँकलन पार गरेको छ । यो फिल्ममा दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको मुख्य अभिनय छ ।
पछिल्लो समय रजनीकान्तको अधिकांश फिल्मले बलिउड बक्स अफिसमा दुई समय करोड पार गरेको छ । दुई सय करोड भारुको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौ फिल्म हो । यसअघि उनको फिल्म ‘रोबर्ट’, ‘कबाली’, ‘२.०’ तथा ‘पेटा’ले यो आँकडा पार गरेका थिए ।
भारतीय मिडियाहरूले जनाएअनुसार यस फिल्मले विश्वव्यापी रूपमा रिलिजको ११ दिनमा यो कमाइ गर्न सफल भएको हो । यस फिल्मले तमिलनाडुबाट मात्रै ८० करोड भारुको कमाइ गरिसकेको बताइएको छ ।
समाचारमा बताएअनुसार यो फिल्मले तेलेगु भाषाबाट २० करोड भारु कमाइ गरिसकेको छ भने हिन्दीबाट ८ करोड भारु कमाएको छ । यस्तै केरला र कर्नाटकाबाट क्रमशः ८ र १९ करोड कमाएको बताइएको छ ।
त्यसैगरी विदेशबाट यस फिल्मले ७० करोड भारु कमाएको बताइन्छ । सुरुवातमा दर्शक र समीक्षकबाट औषत प्रतिक्रिया पाएपनि उत्कृष्ट व्यापार गर्न सफल भएको छ । यस सिनेमामा रजनीकान्त २५ वर्षपछि प्रहरीको भूमिकामा फर्किएका छन् । सन् २०२० लागेपछि बलिउडको या सफल फिल्ममध्ये परेको छ ।