काठमाडाैं - विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज साेमवार भएकाे खेलमा काठमाडाैं नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो ।
विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडाैं १२ ओभर ४ बलमा ८३ रन बनाउँदा अलआउट भयो ।
काठमाडाैंका लागि अविनाश बोहराले सर्वाधिक १६ रन बनाए । विराटनगरका सूर्य तामाङले चार तथा शहाब आलम र किओन जोसेफले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ र विवेक यादवले १८ बलमा ४६ रन बनाए । काठमाडाैंका अनिल खरेल र कमलसिंह ऐरीले दुई/दुई तथा अभिनाश बोहरा, गौतम केसीले एक/एक विकेट लिए ।
विराटनगरले अब फाइनल प्रवेशका लागि भोलि मङ्गलवार जनकपुर रोयल्ससँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई छ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले ५५ लाख, उपविजेताले ३० लाख तेस्रो हुने टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १७:४७