एजेन्सी - महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गरेका छन् ।
युक्रेनका मार्ता चुमालो, इरानका नार्गेस मोहम्मदी र टर्कीका इरेन केस्किनले युद्ध, हिंसा र उत्पीडनबाट मानव अधिकार खतरामा परेको अवस्थामा महिला स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि सम्मान गरिएको ओलोफ पाल्मे मेमोरियल फण्डले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मनोवैज्ञानिक तथा नारीवादी चुमालोलाई महिला अधिकारको प्रबद्र्धन गर्ने र महिलाविरुद्ध हुने हिंसाविरुद्ध लड्ने गैरसरकारी संस्था ‘वुमन पर्सपेक्टिभ्स’का संस्थापकमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ । कोषले भनेको छ, “सन् २०१४ देखि र विशेष गरी सन् २०२२ मा युक्रेनमा रूसको पूर्ण आक्रमणपछि चुमालो युद्धका प्रभावबारे जनचेतना जगाउने र पीडितको आवश्यकतालाई सम्बोधन गर्ने काममा निकै सक्रिय हुनुहुन्छ ।”
पत्रकार तथा मानव अधिकारकर्मी मोहम्मदीलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । पुरस्कार चयन समितिका अनुसार मोहम्मदी इरानमा महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि भएको सङ्घर्षका लागि प्रमुख व्यक्ति हुन् । उनी इरानी राष्ट्रिय शान्ति परिषद्का संस्थापकहरूमध्ये एक सदस्य हुन्।
महिला अधिकारको पक्षमा वकालत गरेकोमा उनी इरानी प्रशासनबाट बारम्बार गिरफ्तार परेकी थिइन् र धेरै जेल अवधिहरू बिताएकी थिइन् । ‘राज्यविरुद्ध दुष्प्रचार गरेको’ अभियोगमा दोषी ठहर भएपछि उहाँ सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेको कोषले जनाएको छ ।
मानव अधिकारवादी वकिल इरेन केस्किनले आफ्नो देशमा ‘जातीय अल्पसङ्ख्यक, समलिङ्गी तथा अन्य नागरिक र आप्रबासी शरणार्थी’ लगायत भेदभावमा परेकाहरूको पक्षमा दशकौं बिताएकोमा उनलाई सम्मान गरिएको हो ।
पुरस्कार निर्णय समितिका अनुसार उनी ज्यान मार्ने धम्की र अभियोजन दुवैको निशानामा पर्नुभएको उनको अधिकारवादी विचारको लागि पनि उहाँलाई कैद गरिएको छ, जसका कारण एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘अन्तस्करणको कैदी’ नाम दिएको छ । फेब्रुअरी १ मा स्टकहोममा एक भव्य समारोहबीच उहाँहरूलाई पुरस्कार वितरण गरिने कोषले बताएको छ ।
ओलोफ पाल्मे पुरस्कार ओलोफ पाल्मे मेमोरियल फण्डद्वारा वार्षिकरूपमा प्रदान गरिने एक लाख अमेरिकी डलर को पुरस्कार हो । सन् १९८६ मा स्टकहोममा भएको भियतनाम युद्धमा अमेरिकी संलग्नताको कट्टर विरोधी मानवअधिकारकर्मी तथा स्वीडेनका सोसल डेमोक्रटिक प्रधानमन्त्री ओलोफ पाल्मेको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
सन् १९८७ देखि यो पुरस्कारले कङ्गोका चिकित्सक तथा नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगे, संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नान र पेन्टागन पेपर्सका ह्विसलब्लोअर डेनियल एल्सबर्गलगायत विश्वभरका मानव अधिकार रक्षकहरू यस पुरस्कारबाट सम्मानित भएकी हुन् ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १९:२०